Thursday, 22, October, 2020 info@saipalnews.com

विदेश जाने नेपालीको करार बदले म्यानपावरविरुद्ध मुद्दा

काठमाडौ । वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले आपूर्ति प्रक्रियामा कामदारसँग गरेको करारपत्र बदल्ने रोजगारदाता कम्पनीविरुद्ध गन्तव्य देशकै अदालतमा नेपाली दूतावासमार्फत मुद्दा चलाउन सुझाव दिएको छ।

नेपालमा कामदारसँग गरेको करारपत्र बदलेर अर्को दिने परिपाटी अन्त्य गर्न सके मात्रै कामदार ठगिनबाट जोगाउन सकिने कार्यदलको निष्कर्ष रहेको छ।

‘जुन ज्याला, काम र सेवासुविधा दिने भनेर सहमति गरी कामदार लैजान्छन, गन्तव्य देशमा पुगिसकेपछि रोजगारदाताले त्यसलाई फरक गर्न पाउँदैन,’ कार्यदलका संयोजक पूर्णचन्द्र भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको नीतिअनुसार यस्तो करारपत्र बदल्ने कार्य मानव तस्करभित्र पर्छ।’

खाडी तथा मलेसिया गएका कामदार नेपालमा करारपत्र गरेअनुसारको तलब पाउनबाट वञ्चित छन्। रोजगारदाताले नेपाल सरकारले तय गरेको न्यूनतम तलब दिने भनेर कामदार लैजान्छन्।

तर, गन्तव्य मुलुक पुगेपछि कम तलब दिन्छन्। ‘गन्तव्य देशका श्रम कानुनअनुसार कामदारसँग भएका करारपत्र बदल्न पाइँदैन तर कामदार आफैं कम्पनीविरुद्ध स्थानीय अदालतमा गएर मुद्दा–मामिला गर्न सक्दैनन, उनीहरू दूतावाससम्म पुग्छन,’ उनले भने, ‘अब दूतावासले दुईथरी करारपत्र लिएर अदालतमा कम्पनीविरुद्ध मुद्दा हाल्नुपर्छ।’ कान्तिपुर दैनिकमा खबर छ।