Tuesday, 22, September, 2020 info@saipalnews.com

निर्वाचन क्षेत्र विकासको रकम आफूखुसी खर्च गर्न नपाइने

काठमाडौ । सरकारले सांसदकालागि बजेटमार्फत विनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’को रकम आफूखुसीखर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांसदलाई विकास खर्चका लागि छुट्टाइएको बजेट खर्च गर्न निश्चित मापदण्ड हुनेगरी कार्यविधि बनाएको हो । सरकारले यसै आर्थिक वर्षदेखि सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेट आफूखुसी खर्च गर्न नपाउने गरी बजेट विनियोजन गरेपछि मन्त्रालयले कार्यविधि बनाउन थालेको हो ।

यसअघि छुट्टाइएको बजेटमा सांसदले मनपरी खर्च गरेकाले विरोध भएपछि यस पटकदेखि सरकारले मापदण्ड तोकेको छ । कार्यविधिमा सम्बन्धित क्षेत्रका सांसद संयोजक भएको समिति गठन गरिने उल्लेख छ ।

समितिमा सम्बन्धित क्षेत्रका दुई प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका अध्यक्ष र सम्बन्धित नगरपालिका वा गाउँपालिकाका प्रमुख वा अध्यक्ष सदस्य रहने व्यवस्था छ । सांसदले पूर्वाधार विकासका लागि मात्र खर्च गर्न पाउने कार्यविधि बनाइएको छ ।