Thursday, 01, October, 2020 info@saipalnews.com

मुलुकी ऐन २०७४ मा चिकित्सक सङ्घको पाँच वटा संशोधन माग

काठमाडौ । मुलुकी ऐन २०७४ मा असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले पाँच वटा संशोधनको माग गरेको छ।

ऐनमा संशोधन गरेर दफा २३० को उपदफा २ लाई खारेज गर्नुपर्ने माग सङ्घको छ।लामो अनुभवबाट उपचार सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधी खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने उपदफा २ मा उल्लेख छ।दफा २ सय ३१ र दफा २ सय ३९ समेत खारेज गर्न सङ्घले माग गरेको छ।

दफा नम्बर २३२ मा रहेको लापरबाही वा हेलचक्र्याइ बदनियत चिताइ उपचार गर्न नहुने शब्दलाई पुष्टि गर्न विशेषज्ञ समिति बनाई छानबिन गर्नुपर्ने वाक्यांश थप गर्न सङ्घले माग गरेको छ ।

ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी बिना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्नेमा सङ्घको जोड रहेको छ ।