Thursday, 22, April, 2021 info@saipalnews.com

नेपालको पहिलो एवं बहुप्रतिक्षित कलंकी ‘अन्डरपास’ सन्चालनमा

काठमाडौ । नेपालको पहिलो एवं बहुप्रतिक्षित कलंकी ‘अन्डरपास’ सन्चालनमा आएको छ । अन्डरपास सन्चालनमा आएसँगै उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने प्रमुख नाका कलंकीमा कम जाम हुने विश्वास गरिएको छ ।

चार लेनको अन्डरपासमध्ये हिजो देखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । ‘दुई लेनमा निर्माण सामग्री राखिएकाले पन्छाउन एक महिना लाग्छ । एक महिनापछि अन्डरपास चार लेनमै चल्छ ।

अन्डरपासमा सवारीचालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ’–उहाँले भन्नुभयो । चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलंकी सडक विस्तारअन्तर्गत् अन्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिएपनि निर्माण सम्पन्न नभएकाले अन्डरपास खोल्न समय लागेको थियो ।

अन्डरपास सन्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।