Tuesday, 20, October, 2020 info@saipalnews.com

प्रधानमन्त्रीले भने–अपराध संहिताको विरोध गर्नुको औचित्य छैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा सरकार पारदर्शी हुनुपर्छ भनेर प्रदान गरिएको सूचनाको हकअनुसार नै अपराध संहिता आएकाले त्यसको विरोध गर्नुको औचित्य नभएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोग १२औं बार्षिकोत्सवका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक सरोकारका विषयबाहेक कसैको निजी जीवनसँग सरोकार राख्ने विषयमा सूचना खोज्न नहुने बताउनुभयो ।

उहाँले गत वर्ष नै पारित गरिएको नयाँ मुलुकी ऐन कार्यान्वयनको समयमा तीव्र आलोचना गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकी ऐनमा प्रदान गरिएको सूचनासम्बन्धी हकले प्रकाशन र प्रसारणलाई कतै प्रभावित नपारेको बताउनुभयो । सूचनाको हकको सही सदुपयोग गरेर सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो भन्दै उहाँले मुलुकी ऐनले प्रेस स्वतन्त्रता नखोसेको दाबी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारले जनतालाई प्रदान गरेको सेवा–सुविधाबारे सर्वसाधारणलाई जानकारी दिन जरुरी रहेको बताउनुभयो ।