Saturday, 24, October, 2020 info@saipalnews.com

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठक बस्दै, यस्तो नयाँ कार्ययोजना बन्दै

काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितका लागि नयाँ कार्ययोजना बनाउने भएको छ । यसअघि भएका कार्यविधिलाई परिमार्जन गरेर प्राधिकरणले नयाँ कार्ययोजना बनाउने तयारी गरेको हो ।

सुशील ज्ञवाली कार्यकारी निर्देशकमा नियुक्त भएपछि आज पहिलो पटक प्राधिकरणको बैठक बस्न लागेको हो । बैठकले अहिलेसम्मको अवस्था मुल्याङ्कन गरेर नयाँ कार्ययोजना बनाउने बताइएको छ । भूकम्प प्रभावितले पाउने सहुलियत ऋणलाई सहज बनाउने उपायका विषयमा पनि छलफल हुनेछ ।

राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या ५ लाख पुगेको भए पनि हालसम्म करिब २ लाख ३० हजार मात्रै घर पुनर्निर्माण भएका छन् । निजी आवासका लागि ९ लाख ९६ हजार घरधुरीको सर्वेक्षण भएकोमा ८ लाख ७ हजार मानिस लाभग्राही सूचीमा परेका छन् ।

त्यसमध्ये अनुदान सम्झौता गरेका कुल ७ लाख २१ हजार ७४३ लाभग्राही छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० असारसम्मको तथ्यांकअनुसार तीमध्ये २ लाख ३० हजारले मात्रै घर निर्माण सम्पन्न गरेका छन् ।

लाभग्राही सूचीमा परेका मध्ये १ लाखभन्दा बढीसँग अनुदान सम्झौता हुन बाँकी छ । झन्डै ३ लाख घर निर्माणाधीन छन् । प्राधिकरणका अनुसार करिब ३ लाखले अझै घर निर्माण थालेका छैनन् ।