Saturday, 19, September, 2020 info@saipalnews.com

मुस्लिम समुदाय आज बकर–इद मनाइदैं

काठमाडौ । मुस्लिम धर्मावलम्बीले आज बकर–इद मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ ।

यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा मुस्लिम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् ।

यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ ।

सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको मुस्लिम धर्मगुरुहरु बताउँछन् । बकर–इदको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभकामना दिनुभएको छ ।

उहाँको सन्देशमा हिमालदेखि तराईसम्म बसोबास गरेका मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरिएको छ । यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने प्रधानमन्त्रीको विश्वास छ ।