Saturday, 24, October, 2020 info@saipalnews.com

मृत भेटिएका युवकको हत्या भएको आशंका, हत्यारा को ?

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ हर्कपुरमा मृत भेटिएका एक युवकको हत्या भएको आशंका गरिएको छ ।

मंगलबार दिउँसो आफ्नै कोठामा मृत फेला परेका २७ वर्षीय सन्तोष कार्कीको हत्या भएको आशंका गरिएको हो । बिहानसंगै खाना खाएर धान गोड्न निस्किएका परिवारका अन्य सदस्य दिउँसो घर फर्कदा छोरा आफ्नै कोठामा अचेत अवस्थामा फेला परेको पारिवारिक श्रोतले बताएको छ ।

कार्की लडेको कोठा वरपर रगतले लत्पतिएको देखेपछि परिवारले गाउँलेलाई खबर गरेका थिए । एकैछिनमा गाउँलेहरु जम्मा भएर प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय रामपुरको टोली मंगलबार बेलुकानै घटना स्थल पुगेको थियो । तर घटनाको प्रकृति शंकास्पद रहेको भन्दै प्रहरी टोलीले केही गर्न सकेन ।

बुधबार बिहान करिब १० बजेतिर पुनःजिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माको टोली घटनास्थल पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरी प्रमुख शर्माले घटनाको प्रकृति हेर्दा युवकको आत्महत्या नभई हत्या भएको हुन सक्ने बताउनुभयो ।