Saturday, 26, September, 2020 info@saipalnews.com

अब ८ तले घर बनाउन पाइने, यस्तो छ नयाँ मापदण्ड

काठमाडौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्र भित्र भवन निर्माण गर्न नयाँ मापदण्ड तयार गरेको छ। भित्रि शहरका लागि तय गरिएको मापदण्डमा भवनको उचाइ, तला र बेसमेन्ट सम्बन्धी नयाँ प्रावधानको व्यवस्था गरिएको छ ।

महानगरपालिकाले भवन निर्माण मापदण्ड–२०७५ स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको हो। बढ्दो शहरीकरण तथा जनघनत्वलाई ध्यान दिई उचाइ, तला र बेसमेन्टलगायतका विषयलाई संशोधन गरिएको महानगरपालिकाले जानकारी दिएको छ।

बेसमेन्टसहितको नक्सापासको हकमा पुरानो सहरी क्षेत्र (वसन्तपुर दरवार क्षेत्र आसपास) जमिनमुनि एक तलामात्र बेसमेन्ट र अन्य क्षेत्रको हकमा जमिनमुनि दुई तलासम्म बेसमेन्ट निर्माण गर्न पाइने व्यवस्था गरिएको छ। दुई तल्लासम्मको बेसमेन्ट निर्माण गर्ने भएमा सँधियारतर्फको सेटब्याक कम्तीमा तीन मिटर छोड्नु पर्ने व्यवस्था समेत गरिएको छ।

संशोधित मापदण्डमा पुरानो सहरी क्षेत्र अन्तर्गत संरक्षित स्मारक उपक्षेत्रभित्र प्राविधिक समितिको सिफारिसमा एक तलामात्र बेसमेन्ट बनाउन पाइनेछ। यस क्षेत्रमा अन्य व्यवस्थाको हकमा भवन निर्माण मापदण्ड २०६४ अनुसार हुने उल्लेख छ। त्यसैगरी, संरक्षित उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री भण्डारण गर्न र भूकम्प प्रतिरोधी जग निर्माण गर्न एक तलामात्र बेसमेन्ट राख्ने नयाँ नियम लागू गरिएको छ।

संरक्षित उपक्षेत्रमा फ्लोर एरिया अनुपात ‘फार’ (जग्गाको अनुपातअनुसार भवनको उचाई)को व्यवस्था नराखी अधिकतम सात तला र अधिकतम उचाइ ६५ फिटसम्म जान पाउने व्यवस्था गरिएको छ। मिश्रित पुरानो बसोबास क्षेत्रमा सोही अनुसार बेसमेन्टसहित अधिकतम आठ तला र उचाइ ७५ फिटसम्म भवन निर्माण गर्न पाउने व्यवस्था गरिएको छ । वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा बेसमेन्ट वा सेमिबेसमेन्ट निर्माण गर्न सकिने प्रावधान पनि नयाँ मापदण्डमा छ ।

यसअघि भवन निर्माण मापदण्ड २०६४ अनुसार चार तल्लासहित अधिकतम् उचाइ ३५ फिटदेखि ४५ फिट र ‘फार’ ३ देखि ३ दशमलब ५ फिट सहितको भवन स्वीकृत हुने गरेको थियो।पुरानो सहरी क्षेत्रभित्र सडक वा चोकतर्फ सेटब्याक नछाडी निर्माण कार्य गरेमा प्लिन्थ लेबल (डीपीसी)सम्मको उचाइ बढीमा एक फिटसम्म निर्माण गर्न सकिनेछ। तर सडक वा चोकतर्फ कुनै पनि किसिमको खुड्किला निर्माण गर्न नपाइने उल्लेख गरिएको छ। गोरखापत्रमा खबर छ।