Sunday, 28, February, 2021 info@saipalnews.com

एक पिस योनी हुनुको सकस–उन्नती चौधरी

हरेक विषयलाई लैंगिकताको आँखाले विश्लेषण गर्ने महिला खबरका अधिकांश सामग्रीहरु हेर्दा त लाग्छ, यो देशमा महिला त अन्याय र थिचोमिचो सहनकै लागि मात्र जन्माइन्छन् । उनीहरुलाई आत्मसम्मानका साथ बाँच्न पाउने हक छैन । पेटबाट नै शुरु हुन्छ उनीहरुमाथि प्रहार र मृत्यु पश्चात पनि लागिरहन्छ यावत आरोप प्रत्यारोपहरु । तर महिला खबरले उठाइरहने महिलाको पक्षका विषय, राज्यसत्तालाई गरिरहने प्रश्न र आलोचनाको सम्बोधन गर्न सरकार कहिले पो सक्ला र ! महिला खबरमा हालै प्रकाशित ‘ए आमा !’ कविताले मलाई बालापनको याद दिलायो । त्यसको अर्को दिन रुपा थापाले लेखेको ‘ए राष्ट्रपति आमा !’ कविताले पढ्दा निकै भावुक भएँ । यो कविताले मलाई मसँग प्रश्न गर्न बाध्य बनायो । म निन्द्रा बिनाको सपना देख्न थाले ।

जीवनमा भोगेका हरेक पललाई राम्रो नराम्रो भनेर छुट्याउन थाले । र, जीवनको समिक्षा गर्दै जाँदा रहेक दिन कुनै न कुनै बेला आफूलाई यौन दुर्व्यवहार भएको छुट्याउन सकें । एक दिन एउटा कार्यक्रममा सहभागी भएको थिएँ । कार्यक्रमको शुरुआत परिचयात्मक कार्यक्रमबाट भयो । हरेकले आफ्नो परिचय दिईसकेपछि महिला भएर जन्मिन पाउँदा कुन कुरामा गौरव गर्छौं भन्ने प्रश्नको उत्तर पनि दिनुपर्ने थियो । सहभागीहरु मध्ये धेरैले ‘महिलामा सहनशिलता हुन्छ । महिला शक्ति हुन् । महिला प्रकृतिका खानी हुन् । स्महिला सृष्टिकर्ता पनि हुन्’ आदि इत्यादी भएका कारण महिला भएकोमा गौरव गर्छु भने । ‘सृष्टिकर्ता भएर जन्मिन पाएकोमा खुसी छु भनें’ मैले पनि । यो भनिरहँदा मैले एक पटक पनि सोचिन कि समाजले मलाई सृष्टिकर्ता भएकै कारण हरपल चरित्रमा औंला ठड्यायो । म सृष्टिकर्ता हुनुमा गौरव त गर्छु । तर मसँग भएको एक थान योनिका बारेमा भने सोच्न सकिनछु । र हत्त न पत्त ‘म सृष्टिकर्ता हुँ । त्यसैले महिला भएकोमा गौरव महशुस गर्छु’ भन्दै उत्तर दिएँ । महिला जन्मदेखि नमरुन्जेलसम्म हरेक पल ‘चरित्र’ भन्ने कुराबाट जोगिनुपर्ने बाध्यता छ । हरेक पाईलामा चरित्र भन्ने जोगाएर हिँड्नुपर्ने । मानौं त्यो शब्द महिलाहरुकै लागि बनेको हो ।

नेपाली बृहत् शब्दकोषमा ‘चरित्र’ को अर्थ जीवनी, चरित । चालचलन, बानीबेहोरा, व्यवहार भन्ने उल्लेख रहेछ । त्यो चरित्र भन्ने चिज चाहिँ महिलाको मात्रै हुन्छ र हुनुपर्छ भन्ने चाहिँ उल्लेख छैन । अथवा पुरुषको चरित्र हुनुपर्दैन र छैन पनि भनेको छैन । त्यसो भए छोरीलाई मात्रै पाईला पाईलामा किन त्यही चरित्रको डर त ? म सानो थिएँ । स्कुल जाँदा छोटो स्कट अनि गोजी हालेको सर्ट लगाउँथेँ । सर्टको गोजीमा म गुच्चा लुकाएर राख्थे । मेरो साथीहरु मसँग भएका गुच्चा गोजीबाट खोसेर लग्थे । तर जब म अली ठूली भएँ, त्यतिबेलासम्म पनि म त्यस्तै सर्ट लगाउँथे । मेरो धेरै साथीहरुले मलाई जिस्काउँथे । ‘त्यो केटीलाई लाज पनि लाग्दैन, गोजी हालेको सर्ट लगाएर पढ्न आउँछ’ भन्थे ।

स्कुलमा शिक्षकले पनि बेला बेला प्रश्न सोध्ने बहानामा मेरो सर्टको गोजी समातेर तान्ने धकेल्ने गर्थे । उतिबेला मलाई बलात्कारको ‘ब’ पनि थाहा थिएन । तर जुनबेला शिक्षकले मेरो सर्टको गोजी समात्थ्यो, त्यतिबेला मलाई अप्ठ्यारो महशुस हुन्थ्यो । डर लाग्थ्यो । तर किन यसो गरेका भनेर प्रश्न गर्ने न हिम्मत थियो । न आँट । मेरो शरीरका हरेक अंग विकास हुने क्रममा थिए । मैले गोजी हालेको सर्ट लगाउँदा पुरुष साथीहरुको नजर मेरो सर्टको गोजीमा हुन्थ्यो । तर मैले अहँ कहिल्यै कसैलाई केही भन्न सकिन । तिम्रा आँखा किन मेरो गोजीमा भन्नै सकिन । केटा साथीको आँखा मेरो सर्टको गोजीमा होईन, मेरो हुर्किदै गरेका स्तनमाथि थिए । त्यो कुरा अहिले बुझें । बहना गोजी थियो तर कारण मेरा स्तन ।

शक्षकले मेरो सर्टको गोजी समातेर तान्ने र धकेल्ने बहानामा मेरा बढ्दै गरेको स्तन छोएर सन्तुष्टि लिन्थे सायद । मलाई मेरो सर्टको गोजीले बेला बेला लज्जित बनाउँथ्यो । पछि म आफैले सर्टको गोजी च्यातेर फालें । तर, उति बेला भने ममाथि आफ्नै केटा साथी र ज्ञान दिने कथित शिक्षकको यौन दुर्व्यवहार भईरहेको छ भन्ने कुरा विरुद्ध बोल्नै सकिएन । या भनौं त्यो हिंसा महशुस नै भएन । मात्रै अप्ठ्यारो र नराम्रो लाग्थ्यो । न त प्रतिकार गर्नुपर्छ भन्ने थाहा थियो । यी सबै कुरा सम्झिँदा लाग्छ, हामी महिला पाईला पाईलामा बलात्कृत भईरहेका छौं । धेरै पटक लोग्ने मान्छेका आँखाले बलात्कार गरेका छन् ।

कहिले हातले गरेका छन् । कहिले कुइनाले त कहिले छातीले । उमेर बढ्दै र विषय बुझ्दै गर्दा आपूmमाथि आफ्नै सहकर्मी र सार्वजनिक यातायात तथा कार्यक्रममा हुने दुव्र्यवहार विरुद्ध ठाउँका ठाउँ प्रतिकार गर्न मन लाग्छ । र फोड्न मन लाग्छ ती आँखाहरु, जो मलाई हेरेर तिल्मिलाउँछन् । भाँच्न मन लाग्छ ती हातहरु जो म र मेरा स्तनसँग जबरजस्ती ठोक्किन आउँछन् । अनि टाल्न मन लाग्छ ती थुतुनाहरु जसले महिला देख्नेबित्तिकै छेड्छन्, सुस्केरा हाल्छन् र अश्लील बोल्छन् । तर के गर्नु हाम्रो कानुनका आँखा छैनन् । आँखा नहुनेले झन् मनन् गर्छन् भन्थे । तर यो कानुनले त मनन् पनि गर्दैन ।

अर्थात तनको आँखाले मात्रै हेर्छ । मनको आँखाले न्याय र अन्याय, सत्य र असत्य हेर्देन । मलाई फलानो मान्छेले सुस्केरा हाल्यो, छेड्यो, अश्लील बोल्यो, कुइनाले मेरा स्तनमा छोयो, मलाई धकेल्यो भन्दा ‘तिमीसँग प्रमाण के छ ? देख्ने सुन्ने साक्षी को छन् ? भन्छ । प्रमाण खोज्छ । तर बुझ्दैनन् न्यायमुर्तीहरु कि मलाई सुस्केरा हाल्ने केटाहरुले जानकारी दिएर सुस्केरा हाल्दैनन् । मेरो स्तनमा ठोक्किन आउनेहरुले पूर्व जानकारी दिँदैनन् कि ‘म तिमीसँग ठोक्किन्छु । तिमी साक्षी जम्मा गरिराख । क्यामेरा स्ट्याण्डबाई राख’ भनेर । अनि मैले कस्तो प्रमाण पेश गर्नु र साक्षी जुटाउनु ? छोरीको लागि यो कालो युग हो या २१ औं शताब्दी ! बुझ्न सकेकी छैन । तर छोरीका लागि विज्ञानको युग भनिएको २१ औं शताब्दी पनि कलियुग जस्तै छ । गर्व गर्नै नसकिने । स्वतन्त्रता महशुस गर्नै नमिल्ने । बाँचेर पनि पलपल मर्नुपर्ने ।

मैले कुनै पुरुषसँग राम्रो विषयमा भेट्नुपर्ने छ भने पनि सोच्नुपर्ने । उसले विषयान्तर ग¥यो भने के गर्ने ? विषयमा भन्दा बढी मेरो प्रेमी छ कि छैन ? मैले अहिलेसम्म सेक्स गरेको छु कि छैन ? कस्तो केटा मन पर्छ ? म तपाईंलाई कस्तो लाग्छु ? तपाईंको यो चिज राम्रो छ ? ‘..यस्ता यावत प्रश्न र जिज्ञासा राखे के गर्ला भनेर सोच्नु पर्छ । हो त्यसैले त दिक्क बनाउँछ यस्ता व्यक्ति, प्रश्न र हाम्रो सामाजिकीकरणले । महिलासँग आखिर यो सबै किन त ? उत्तर सजिलो छ, ‘महिलासँग एक थान योनि हुनुको सकस हो यो ।’ मसँग भएको एक पिस योनिकै कारण मैले कथित मेरा आफ्नै नातागोता, सहकर्मीसँग मात्रै होइन चिन्दै नचिनेका, देख्दै नदेखेका दुई खुट्टे पुरुषसँग त्रसित हुनुपर्ने । उनीहरुबाट आपूmलाई बचाउनुपर्ने । कुनै भयंकर, डरलाग्दो, खतरनाक जनावरसँग जस्तो । जोगिनुपर्ने उबाट । हैट, आखिर कहिलेसम्म त यस्तो ? नयाँ विमर्श साप्ताहिकबाट साभार