Friday, 25, September, 2020 info@saipalnews.com

बिमस्टेक सम्मेलनको पूर्व तयारीका लागि आज सचिवालयको बैठक बस्दै

काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक सम्मेलनको पूर्व तयारीका लागि आज सचिवालयको बैठक बस्दैछ ।

परराष्ट्र सचिवस्तरीय बैठकले सम्मेलनका लागि एजेण्डालाई अन्तिम रुप दिनेछ । आज तय भएका एजेण्डामा भोलि फेरि परराष्ट्र मन्त्रीस्तरको बैठकले अन्तिम रुप दिनेछ ।

नेपालले विद्युत, रेल, सडक, कृषिलगायतका क्षेत्रलाई महत्व दिएको छ । सम्मेलनका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता पनि हुनेछ । भदौ १५ गते वार्ता तय गरिएको छ ।

सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । हिजो नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुराउन पूर्वअभ्यास गरिएको थियो । भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उहाँहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मार र भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनुहुनेछ ।