Wednesday, 28, October, 2020 info@saipalnews.com

विम्स्टेक सम्मेलनभरः बसको टिकट खुलामञ्चमा काट्नुहोस बस चढ्न बालाजु जानुहोस ..

काठमाडौ । बिमिस्टेक सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि १२ देखि १६ गतेसम्म काठमाडौंको खुलामञ्चमा रहेको बसपार्क बन्द गरिएको छ। बिहानैदेखि बसपार्क बन्द हुँदा गाडी चढ्ने ठाउँका लागि यात्रुहरूलार्इ कठिनाइ भएको छ।

चौथो बिमस्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भएकाले पूर्व तयारी एवं ट्राफिक व्यवस्थापन तथा बसपार्क मर्मतका लागि भदौ १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेु काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ।

बिहान ६ देखि बेलुकी ६ बजेसम्म चारैदिन बसपार्क बन्द गरिएको महानगरपालिकाले जनाएको छ।

बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने ठूला यात्रुबाहक सवारीसाधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलंकी हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ।

साँखु, बौद्ध, चाबहिल, थानकोट लगायतका स्थानहरूबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारीसाधनहरूलाई भने रत्नपार्क वरपर पिक एन्ड ड्रप मात्रै गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उपत्यकाभित्रका सवारी साधनलाई भने पार्किङ नगरी गाडी घुमाउन र यात्रु झार्न भनिएको छ।

महाशाखाका अनुसार यही भदौ १३ देखि १५ गतेसम्म उक्त प्रणाली लागू हुनेछ । भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ । “एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन बाहेक अरू सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भन्नुभयो । काठमाडौँ उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । धेरै सवारीसाधन ओहोरदोहोर गर्दा बिमस्टेक सम्मेलनमा आउने पाहुनाको आवागमनमा अप्ठ्यारो पर्ने भएकाले महाशाखाले उक्त प्रणाली लागू गर्न लागेको हो ।