Wednesday, 21, October, 2020 info@saipalnews.com

ब्यान्डविथ खरिद : टेलिकमले २४ डलरमा किनेको एनसेलले १० मा किन्छ

काठमाडौ । नेपाल टेलिकमले ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा चर्को मूल्य तिर्नु परेको छ। सार्वजनिक खरिद ऐनमा टेन्डरमार्फत नै ब्यान्डविथ खरिद गर्नुपर्ने व्यवस्था छ। टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्।

तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेलले भारतको भारती एयरटेल लिमिटेडसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। यी दुई कम्पनीले एउटै कम्पनीबाट ब्यान्डविथ खरिद गरिरहेको भए पनि उनीहरूले मासिक तिर्ने मूल्यमा भने झन्डै एक सय ४२ प्रतिशतको फरक देखिएको छ।

तथ्यांकका आधारमा एनसेलले भारती एयरटेल लिमिटेडसँग मासिक ९.९० डलर प्रतिएमबीपीएसका दरले ब्यान्डविथ खरिद गरिरहेको छ। सोही कम्पनीलाई टेलिकमले भने मासिक २४ डलर प्रतिएमबीपीएस तिरिरहेको छ। तथ्यांकअनुसार एनसेलले भारती एयरटेलबाट अहिले १४.२ जीबी ब्यान्डविथ खरिद गरिरहेको छ।

टेलिकमले पनि सोही क्षमताको ब्यान्डविथ खरिद गरेको भए पनि मूल्यमा ठूलोअन्तर छ। यी दुई कम्पनीले विभिन्न कम्पनीबाट इन्टरनेट ब्यान्डविथ खरिद गरेका छन्। एनसेलले सबैभन्दा सस्तो ९.९० डलर प्रतिएमबीपीएस ब्यान्डविथ खरिद गर्दा एनटीसीको १७ डलर प्रतिएमबीपीएस छ। यो एनसेलले तिर्ने सबैभन्दा महँगो मूल्य बराबर हो। अन्नपूर्ण पोष्टमा खबर छ।