Saturday, 19, September, 2020 info@saipalnews.com

एसिया कप क्रिकेट छनोटः पहिलो खेलमा नेपालको ओमानसँग नमीठो पराजय

एसिया कप छनोटका लागि बुधबारबाट मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा नमिठो हार बेहोरेको छ । प्रतियोगिताको उपाधि दावेदार मानिएको नेपाल अर्काे बलियो प्रतिस्पर्धी ओमानसँग ७ विकेटले पराजित भयो ।

क्वाललम्पुरमा बुधबार भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएुर २२१ रन बनाएको थियो । परम्परागत रुपमा रहेको नेपालको ओपनिंग समस्या बुधबार पनि रह्यो ।

सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८ ओभरमा ३१ रन जोडेका थिए । त्यसपछि आएका कप्तान पारस खड्काले पनि उल्लेख्य रन बनाउन सकेनन् । उनी २४ बलमा ८ रन बनाएर आउट भए ।

निकै धिमा खेलेको नेपालका लागि सागर पुन र आरिफ शेखले राम्रो साझेदारी गरेर नेपाली इनिंग उकासेका थिए । सागरले ८३ रन बनाए भने आरिफले ३६ रन बनाए ।

अन्तिममा ब्याटिंग गरेका करण केसीले १० बलमा २ छक्का र १ चौकाको मद्दतले २६ रन बनाउँदा नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।
जवाफी ब्याटिंगमा उत्रेको ओमानले भने सुरुदेखिनै सुझबुझ पूर्ण ब्याटिंग गर्यो । उसका लागि खवार अलिले नटआउट ८४ रन बनाए भने अर्का ब्याट्सम्यान जेशन मक्सुदले ४५ रनको नटआउट इनिंग खेले ।

पहिलो खेलमा हार बेहोरेको नेपाललाई एसिया कपसम्मको यात्रा कठिन हुने देखिएको छ । बुधबारै भएका अरु दुई खेलमा यूएई र मलेसिया विजयी भएका छन् । प्रतियोगितामा एक देशले सबै देशसँग खेल्नुपर्ने हुन्छ ।

र सबैभन्दामाथि रहेका दुई देशबीच फाइनल हुनेछ । फाइनल जित्ने देशले भारत र पाकिस्तानसँगै एसिया कपका लागि छनोट हुनेछ । नेपालले दोस्रो खेल आगामी १६ गते मलेसियासँग खेल्नेछ ।