Thursday, 24, September, 2020 info@saipalnews.com

आज अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस मनाइँदै

काठमाडौ। आज अगष्ट ३० तारिख अर्थात् ३५ औं बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस । दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

द्वन्द्वकालका घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेपछि यो दिवस मनाउन थालिएको हो ।नेपालमा यो दिवस चौथौैँ पटक मनाउन लागिएको हो ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगष्टका दिन मनाउने गरिएको छ । सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट यो दिवस मनाउने भनेर घोषणा गरिएको हो ।

नेपालमा गठित छानबिन आयोगमा अहिलेसम्म तीन हजार १ सय ९७ उजुरी परेको छ । त्यसमध्ये सत्यनिरुपण तथा मेलमिलाप आयोगसँगसम्बन्धी ४ सय १४, दोहोरो उजुरी परेर गाभिएको १ सय १९, तामेलीमा राखिएको २ सय ८७, प्रारम्भिक कारवाही तथा प्रारम्भिक छानबिनमा रहेको उजुरी संख्या १४ र विस्तृत अनुसन्धान गर्न भनी निर्णय भएको दुई हजार ५ सय छुट्याइएको छ ।

आयोगमा मनाङ र मुस्ताङबाट कुनै उजुरी परेको छैन । त्यस्तै द्वन्द्वकालमा वेपत्ता भएका १२ जना घर फर्केका छन् ।