Thursday, 29, October, 2020 info@saipalnews.com

अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था अन्त्य गर्न चिकित्सक संघको माग

काठमाडौ । नेपाल चिकित्सक संघले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था अन्त्य गर्न माग गरेको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा आज विधेयकमाथिको छलफलमा भाग लिँदै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न कानूनी व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन ल्याएकोमा स्वागत गर्दै ऐनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन सांसदहरुलाई आग्रह गर्नुभयो ।

अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी छ ।बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराएका थिए ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न आग्रह गर्नुभयो । समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दावी गर्दै असन्तुष्टि जनाउनुभयो ।