Tuesday, 20, October, 2020 info@saipalnews.com

अन्तर्राष्ट्रिय प्रतियोगिता : खर्च गराएर आउँछन् तर खेल्दैनन् किन ?

काठमाडौ । एक वर्षअघि तुर्कमिनिस्तानको अस्गबातमा ‘एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्स’ आयोजना भयो। उक्त प्रतियोगितामा नेपालले सहभागिता जनायो। तर, प्रतियोगिताका लागि अस्गबात पुगेका केही नेपाली खेलाडी स्पर्धामा भागै नलिई घर फर्किए।

प्रतियोगिता छाड्नुको कारणबारे उनीहरूलाई सोधियो। केही खेलाडीले उत्तर दिए— खेलको समयमा शौचालय गएका थियौं। केहीले आफूलाई खेल सुरु हुने समयबारे जानकारी नभएको बताए। केहीले भने बाटो बिर्सिएर खेलमैदान पुग्न ढिलो भएको दाबी गरे।

सञ्चारमाध्यममा उक्त समाचारले प्राथमिकता पायो। यसपछि नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्यस विषयमा छानबिन समिति बनायो। सोही समितिको प्रतिवेदनका आधारमा उसले केही खेलाडीलाई कारबाही ग-यो। केहीलाई भने सचेत मात्र गराएर उन्मुक्ति दियो। इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा एसियाली खेलकुदको १८औं संस्करण आयोजना भइरहेको छ।

यो प्रतियोगितामा पनि केही नेपाली खेलाडीको व्यवहार अस्गबात घटनाकै झल्को दिने खालको छ । प्रतियोगितामा पनि नेपालका वीरमान लामाले उसुको पुरुष सान्दा ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो। लाओसका खेलाडी दाम्चोपोछ खिओसाभतसँग क्वार्टरफाइनल खेल्नुपर्ने उनी प्रतिस्पर्धामै उपस्थित भएनन्। फलस्वरूप ‘बाई’ पाएर लाओसका खेलाडी अघिल्लो चरणमा पुगेको छ।

यसैगरी एथलेटिक्समा नेपाली धावक यामसाजन सुनारले पनि आफ्नो खेल छाडेका थिए। पुरुष एक सय मिटर दौडमा सहभागिता जनाएका यामसाजनले तीन दिनपछि भएको दुई सय मिटर दौडको छनोट चरणमा भने भाग लिएनन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।