Sunday, 25, October, 2020 info@saipalnews.com

निजी अस्पतालको दादागिरी, बिरामीलाई १६ महिनादेखि बन्धक बनाइएको खुलासा !

उपचार शुल्क तिर्न नसक्दा बुटवलको एक निजी अस्पतालले बिरामीलाई १६ महिनासम्म बन्धक बनाएर राखेको खुलासा भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनासम्म बन्धक बनाएर राखेको हो ।

बिक दाहिने खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए । तर अस्पतालले उनको हातमा १५ लाख रुपैयाँको बिल थमाइदियो ।

१ कट्ठा जग्गा दृष्टि बन्धक राखेर १ लाख रुपैयाँ उपचार खर्च जोहो गरेका बिकले अस्पतालले थमाएको १५ गुणा बढी शल्क तिर्न सकेनन् । ‘खुट्टा भाँचिएको उपचार गर्न भएको १ कट्ठा जग्गा दृष्टिबन्धकी राखेर १ लाख लिएको थिएँ’, बिकले भने, ‘तर अस्पतालले थमाएको १५ लाखको बिल तिर्न नसकेपछि १६ महिनादेखि अस्पतालकै नियन्त्रणमा छु ।’

अस्पतालले भने यसबारे केही बताएको छैन । अस्पतालका सञ्चालक डा. मोहन सिंहसँग जानकारी लिन सम्पर्क गर्दा उनको मोबाइल स्वीच्ड अफ थियो ।

रकम तिर्न नसकेर युवक बन्धक बनेको सार्वजनिक भएपछि प्रहरीले उनको उद्धार गर्ने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले युवक अस्पतालमा बन्धक भएको जानकारी पाएसँगै उद्धार गर्ने तयारी थालेको जानकारी दिए ।