Monday, 18, October, 2021 info@saipalnews.com

डाक्टरहरुले दिए सरकारलाई एक हप्ताको अल्टिमेटम

काठमाडौ । नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिता ऐन २०७४ संशोधन प्रक्रिया अगाडि बढाउन एक हप्ताको अल्टिमेटम दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सोमबार भएको सहमति अनुसार संघले आउँदो सोमबारसम्मको समय दिएको अध्यक्ष मुक्तिराम श्रेष्ठले बताउनुभयो । आगामी सोमबारभित्र ऐन संशोधनका लागि प्रक्रिया अघि नबढाए पुनः आन्दोलनमा उत्रिन बाध्य हुने उहाँको भनाई छ ।

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र संघबीच भएको वार्तामा संहिताको दफा २ सय ३० को उपदफा २ खारेज गर्ने सहमति भएको छ ।

यसैबीच मन्त्रालय र संघबीच ऐन संशोधन गर्ने सहमति भएसंगै संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । राजधानीमा हिजो पत्रकार सम्मेलन गरेर संघले सोमबारसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।

मुलुकी अपराध संहिता ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सक अस्ति आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए ।