Thursday, 29, October, 2020 info@saipalnews.com

बौद्ध धर्मालम्बीको पञ्चदान पर्व आज मनाइँदै

काठमाडौ । बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन भक्तपुर र मध्यपुर थिमीसँगै काठमाडौं, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइँदै आएको छ । यस पर्वमा बौद्धमार्गी नेवारले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दिन्छन् ।

बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन् । काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहँदै आएको छ ।

भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइन्छ ।

दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, दाफा भजन श्रृङ्गभेरी बाजा आदि सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ । त्यस्तै परम्परागत विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गरिन्छ ।