काठमाडौ । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङ र नुवाकोटको सिमानामा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
हेलिकोप्टरमा सवार व्यक्तिको अवस्था के कस्तो छ भन्ने जानकारी नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
यसैबीच, काठमाडौँबाट उद्धारका लागि आएको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ फर्किएको छ ।