Sunday, 25, October, 2020 info@saipalnews.com

अन्तर–प्रदेश परिषद्को बैठक स्थगित, मुख्यमन्त्रीहरु अन्यौलमा

काठमाडौ । आजका लागि बोलाइएको अन्तर–प्रदेश परिषद्को बैठक रोकिएको छ । संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको परिषदको बैठक आज बस्ने तय गरिएको थियो ।

परिषद्को बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोज्ने योजना थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो बैठक स्थगित गर्नु भएको छ ।

संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद निरूपण गर्न एउटा अन्तर–प्रदेश परिषद् रहने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने र सातै प्रदेशका मुख्यमन्त्रीसहित केन्द्र सरकारका दुईजना मन्त्री सदस्य रहने परिषद्को बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरु असन्तुष्ट बनेका छन् ।

मुख्यमन्त्रीहरुको पोखरा भेलाले आजको परिषदको बैठकका लागि एजेण्डा समेत तय गरेको थियो । प्रधानमन्त्री ओली पोखरा बैठकमा केन्द्र सरकारको अनावश्यक आलोचना गरेको भन्दै असन्तुष्ट बनेपछि बैठक स्थगित गरेको बाहिर आएको छ । तर प्रधानमन्त्रीको सचिवालयले भने व्यस्तताका कारण बैठक स्थगित गरेको बताएको छ ।