Saturday, 19, September, 2020 info@saipalnews.com

नुवाकोट हेलिकोप्टर दुर्घटना : शव काठमाडौं लगिँदै

नुवाकोट । नुवाकोटमा हिजो भएको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव विदुर ल्याइएको छ ।

पाइलट सहित ६ जनाको शव घटनास्थलबाट ल्याएर जिल्ला अस्पताल परिसरमा राखिएको छ ।दुर्घटनास्थलबाटै शवहरु काठमाडौं लैजाने भनिए पनि खराव मौसमका कारण शव लिन आउने हेलिकप्टर अवतरण हुन नसक्ने भएपछि घटनास्थलबाट तीन घण्टा हिडेर र त्यसपछि गाडीमा शव सदरमुकामसम्म ल्याइएको हो ।

घटनास्थल विदुरबाट २५ किलोमिटर टाढा छ । शव लिन आउने ३ वटा हेलिकप्टर काठमाडौंमा तयारी अवस्थामा रहेको र मौममा सुधार आउने वित्तिकै उडान हुने जनाईको छ । शव परीक्षणका लागि काठमाडौं लगिंदैछ ।

हिजो अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा हेलिकप्टरका पाइलट र एक बिदेशी नागरिक सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनाग्रस्त अल्टिच्युडको उक्त हेलिकप्टरमा ७ जना सवार रहेकामध्ये मृत्यु पाइलट निश्चल केसी, जापानिज नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० बर्षिय डिल्ली बहादुर गुरुङ, दोलखाका ३७ बर्षिय हिरा शेर्पा, गोर्खा चुमनुबी गाउँपालिका–१ का छोवाङ नुर्बु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर अवस्थामा रहनुभएका गोर्खाको चुमनुबी–२ का ल्हो आनी डोल्पा डिकीलाई हिजै सिम्रिक एयरको हेलिकोप्टरमार्फत् उपचारको लागि काठमाडौं लगिएको थियो ।

उहाँको अहिले काठमाडौंमा उपचार भइरहेको छ । गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका–१ स्थित बर्सुन्चेतको जंगल स्थितरुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा हिजो अपरान्ह ३ बजे उद्धारको लागि गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो ।