Wednesday, 21, October, 2020 info@saipalnews.com

सरकारले दिने निर्वाह भत्ता एक परिवारका एक सदस्यलाई मात्र

काठमाडौ । सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयका अनुसार एक परिवारका एक सदस्यलाई एक आर्थिक वर्षको २४ हजार पाउने छन् । वेरोजगारका रुपमा पहिचान भएर सूचिकृत भएका र एक आर्थिक वर्षमा एक सय दिनसम्म कुनैपनि काम नगरेका एक परिवारका एक व्यक्तिले मात्रै निर्वाह भत्ता पाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताउनुभयो ।

सरकारले ल्याउन लागेको निर्वाह भत्ता दिनका लागि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने भन्दै उहाँले रोजगार सेवा केन्द्रले १ सय २० दिन सम्म काम दिन नसकेको भनि सिफारिस गरेर पठाएको खण्डमा भत्ता उपलब्ध गराउने जानकारी दिनुभयो ।

प्रवक्ता दाहालले परिवारका कुनैपनि व्यक्ति वैदेशिक रोजगारीमा नगएको, एक परिवारका एक सदस्यलाई मात्रै दिइने, नेपाल सरकारले तोकेको न्यूनतम भन्दा कम आम्दानी भएकोे, सरकारले दिने अन्य कुनैपनि कोषको भत्ता नलिनेलाई मात्रै यो भत्ता दिने स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाह भत्ता पाउनका लागि १८ वर्षदेखि ५९ वर्षका छुट्याइएको भन्दै ती उमेर समुहकाले मात्रै यो भत्ता पाउने बताउनुभयो ।