Saturday, 23, January, 2021 info@saipalnews.com

प्रधानन्यायाधीशमा मिश्र सर्वसम्मत

काठमाडौँ ।  संसदीय सुनवाइ विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

उक्त समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उहाँविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।

को हुन् न्यायाधीश मिश्र?

२०१० सालमा रुपन्देहीमा जन्मिएका मिश्रको प्रधानन्यायाधीशको कार्यकाल पुस महिनाको २७ गतेसम्मका लागि हुनेछ।

२०३८ सालमा शाखा अधिकृतका रूपमा न्यायालय प्रवेश गरेका उनी जिल्ला अदालतको अतिरिक्त न्यायाधीश हुँदै पुनरावेदन, विशेष र सर्वोच्च अदालतमा चार वर्षअघि न्यायाधीशका रूपमा प्रवेश गरेका थिए।

रोलक्रम अनुसार प्रधानन्यायाधीशमा नपरे पनि उनी अघि रहेका जोशीलाई सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र यो पदका लागि वरिष्ठताको आधारमा सिफारिश भएका हुन्।

यसअघिको जोशीको सुनुवाइका बेला थुप्रै पटक बैठक बसे पनि अन्तमा दुई तिहाइको मतका आधारमा जोशीलाई अस्वीकृत गरिएको थियो।

सोमवार बिहानबाट शुरू भएको सुनुवाइ समितिमा मिश्रले आफू २०४७ सालमा न्यायाधीशका रूपमा जिल्ला अदालत प्रवेश गरेदेखि अहिलेसम्म न्यायपालिकामा राजनीतिक प्रभाव अनुभव नगरेको बताएका थिए।