Thursday, 22, April, 2021 info@saipalnews.com

सर्वोच्चले पायो २८ औं प्रधानन्यायाधीश, मिश्रद्वारा पदभार ग्रहण

काठमाडौं। सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्रले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि मिश्रले आइतवार साँझ नेपालको प्रधानन्यायाधीशको पदभार ग्रहण गर्नुभएको हो ।

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उहाँले आज साँझ नै पदबहाली गर्ने जनाइएको छ ।

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गर्नुभएका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ । रुपन्देही जिल्ला रायपुरमा विसं २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मनुभएका ओमप्रकाश मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत नयाँदिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर मिश्रले कानून मन्त्रालयमा शाखा अधिकृतका रुपमा काम गर्दागदै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशका रुपमा काम शुरु गर्नुभयो ।

त्यसैगरी उहाँले जाजरकोट, प्युठान, कैलाली, मोरङ र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा क्रियाशील भएर काम गर्नुभयो । मिश्रले विसं २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशका रुपमा काम शुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशका रुपमा काम गनुभयो ।