Sunday, 17, January, 2021 info@saipalnews.com

इन्द्र जात्रा आजबाट सुरु

काठमाडौ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरि मनाइने इन्द्रजात्रापर्व आजबाट सुरु हुँदैछ ।

आज बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ । काटिएको लिङ्गोलाई नगरअर्थात् भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा छ । नगर प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत दिइएको छ ।

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार तल्लो टोलमा कुमारी यात्रा गराइनेछ । ९ गते मङ्गलबार माथिल्लो टोलमा कुमारी यात्रा गराइन्छ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पतनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा सहितका स्थानमा नेवार समुदायले मनाउने यो जात्रा सबैभन्दा लामो समय १७ दिन सम्म मनाइने गरिन्छ । यो जात्रा असोज १२ गते सकिनेछ ।