Thursday, 24, September, 2020 info@saipalnews.com

सार्वजनिक पदधारण गरेकाको विवरण गोप्य नरहने

काठमाडौ । सार्वजनिक पदधारण गरेको व्यक्तिको वैयक्तिक विवरण गोप्य नहुने भएको छ। संसदको राज्य व्यवस्था समितिले सार्वजनिक पदमा आसीन व्यक्तिको परिभाषसमेत खुलाएर ती व्यक्तिको विवरण खुला हुने सहमति गरेको हो।

राज्यको ढुकुटीबाट तलब सुविधा पाउने व्यक्तिलाई सार्वजनिक पदधारण गरेको भनिन्छ। सरकारले संसदमा ल्याएको वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सावर्जनिक पदधारण गरेका व्यक्तिको विवरण गोप्य राख्नुपर्ने प्रस्ताव थियो।

विधेयकमाथि परेको संशोधनको छलफलमा समितिले सार्वजनिक पदाधिकारी व्यक्तिले बुझाएको सम्पत्ति विवरण, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रलगायतको विवरण तत्सम्बन्धी सूचनाको समाचार प्रकाशन तथा आलोचना गर्न असर नपर्ने प्रावधान राख्ने टुंगो लगाएको हो।

त्यस्तै सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले व्यक्त गरेको मन्तव्य, विचारप्रकाशन वा प्रसारण गर्न सकिने प्रावधान विधेयकमा थप गरेको छ। कान्तिपुरमा खबर छ।