Friday, 25, September, 2020 info@saipalnews.com

सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदलाई सरकारको पुनः आग्रह

काठमाडौ । सरकारले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदलाई पुनः आग्रह गरेको छ ।

‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक, २०७५’ माथिको छलफल चलिरहेका बेला परराष्ट्र मन्त्रालयलले कूटनीतिक राहदानी दुरुपयोग भएको विगतको अनुभवलाई ध्यानमा राखेर विधेयकमा सरकारी प्रयोजनका लागि सांसदले कूटनीतिक राहदानी प्रयोग गर्न पाउने प्रावधान राखिएको स्पष्ट पारेको हो ।

कूटनीतिक राहदानी सांसदले दुरुपयोग गरेको घटना अन्य देशमा सांसद पुगेपछि आउने गरेकाले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने दायित्व राज्यको रहेको मन्त्रालयका सुचना अधिकारी रामबाबु ढकालले बताउनुुभयो ।

बैठकमा समितिका सदस्यले सांसदलाई अप्ठयारो पार्ने गरी कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था नगर्न सरकारलाई सचेत गराएका थिए । विधेयकमा सांसदले कूटनीतिक राहदानी प्रयोग गर्दा सरकारको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

कूटनीतिक राहदानी दुरुपयोग हुन नदिन सांसदलाई पनि अनुमति लिएर मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।