Saturday, 28, November, 2020 info@saipalnews.com

मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व मनाइँदै

जनकपुर। मिथिलाञ्चलको प्रमुख पर्वमध्ये चौठचन्द्र जनकपुरधामसहित मिथिला क्षेत्रमा आज मनाइँदैछ ।

आज साँझ घरघरमा भगवान् गणेश र चन्द्रमाँको विशेष पूजा गरिन्छ । चौठचन्द्र पर्वमा दिनभरि व्रत बसी साँझ चन्द्रमालाई अर्घ अर्पण गरिन्छ । चौठचन्द्रमा प्रसादको रुपमा पिरकिया, खजुरिया, खाजा, पुरी, खिर घरघरमा बनाइने गरिन्छ ।

फलफूलका अतिरिक्त माटोको भाडामा जमाइएको दहीले भगवान् गणेश र चन्द्रमाँको पूजा गर्ने गरिन्छ । चौठी तिथिका दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता रहे अनुसार चौठचन्द्रपर्व मनाउने परिवारका प्रत्येक सदस्यले फलफूल, घरमा तयार पारिएको पकवान्, मिठाइ जस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलमा यो पर्वको शुरुवात तत्कालिन दरभंगा नरेश हेमांगद ठाकुरले गरेको मान्यता छ । नरेश ठाकुरलाई प्रकाण्ड विद्वान र ज्योतिषको रुपमा पनि चिनिन्थ्यो । भदौ महिनाको शूक्लपक्षको चौठी तिथिका दिन मनाइने मिथिलाको लोकपर्व चौठचन्द्रमा गणेश र चन्द्रमाको कथा पनि सुन्ने परम्परा रहेको छ ।

भगवान कृष्णलाई सम्यन्तक मणि चोरी गरेको आरोप लागेपछि उहाँले नै पहिलो पटक चोरीको कलंग मेटाउनका लागि चन्द्रमाँ तथा गणेशको पूजा गरेको शास्त्रहरुमा उल्लेख रहेको छ ।

चौठी तिथिका दिन चन्द्रमाको पूजा नगरी त्यतीकै दर्शन गर्नाले कलंक लाग्ने मान्यता अनुसार मिथिलाञ्चलमा पूजा गरे पश्चात मात्रै दर्शन गर्ने परम्परा छ ।