Friday, 18, September, 2020 info@saipalnews.com

आवास अधिकार विधेयक २०७५ पारित

काठमाडौ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले ७ सदस्यीय उपसमितिले तयार पारेको सुझावसहित आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ विस्तृत छलफल गरी पारित गरेको हो ।अनिल झा नेतृत्वको ७ सदस्यीय उपसमितिले तयार पारेको सुझावसहित विधेयक पारित गरिएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिनुभयो ।

बैठकबाट पारित विधेयकलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्णय भएको छ ।उपसमितिले संशोधनकर्ता सांसद र सम्बन्धित मन्त्रालयसँग विस्तृत छलफल गरी विधेयक परिमार्जनका लागि आवश्यक सुझाव तयार पारेको थियो ।

संशोधनकर्ता सांसद र सरकारका सम्बन्धित निकायसँग आवश्यक छलफल गरी विधेयक परिमार्जनका लागि आवश्यक सुझाव तयार पारिएको उपसमितिका संयोजक अनिलकुमार झाले जानकारी दिनुभयो । समितिले पारित गरेको विधेयकमा सुरक्षित आवासको व्यवस्था सबै नागरिकलाई गर्ने उल्लेख गरिएको छ ।

विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यले सुरक्षित आवास पाउने संवैधानिक अधिकारलाई सुरक्षित गर्न सबै नागरिकलाई जग्गाको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए ।