Saturday, 26, September, 2020 info@saipalnews.com

काँग्रेस नेतृत्व र विधान मस्यौदा समितिबीच छलफल

काठमाडौ । संघीय ढाँचा अनुसार विधान संशोधन मस्यौंदा तयार पार्ने जिम्मेवारी पाएको नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले पार्टी नेतृत्वसँग पनि छलफल गरेको छ ।

समिति अन्तर्गतका तीन उपसमितिले तयार पारेको विधान संशोधन प्रारम्भिक मस्यौदामाथि समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वसँग पनि छलफल गरेको हो । समिति अन्तरगतको उपसमितिले तयार पारेका विधान संशोधन मस्यौंदामाथि पार्टी पदाधिकारी, पार्टी संसदीय दलका पदाधिकारी र पूर्व पदाधिकारीबीच पनि आवश्यक छलफल गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आम जनताको भावनालाई प्रतिनिधित्व हुनेगरी पार्टीको विधान तयार पार्ने कामलाई समितिले तीव्रता दिएको पनि उहाँले बताउनुभयो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौंदा समितिले डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र दिलेन्द्रप्रसाद बडु नेतृत्वको ३ वटा उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिका नेताले आफूले तयार पारेको प्रारम्भिक मस्यौदा नेतृत्वलाई जानकारी गराएका हुन् ।विधानमा आवश्यक परिमार्जन गर्न समितिले सबै प्रदेश तहमा पनि छलफल गर्नेगरी मिति र स्थान तय गर्ने योजना पनि बनाएको छ । भोलीसम्म समितिले विधानको संशोधन मस्यौदामाथि सबै प्रदेशबाट रायसुझाव लिनेगरी छलफल गर्न मिति र स्थान तय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

समितिले तयार पारेको प्रतिवेदनलाई केन्द्रिय कार्य समितिले अनुमोदन गरेपछि मंसीरमा हुने काँग्रेस महासमिति बैठकमा त्यसलाई प्रस्तुत गरिनेछ ।काँग्रेस प्रवक्ता शर्माले पार्टीलाई आधुनिक पार्टीको रुपमा विकास गर्नेगरी विधान तयार पार्ने कामलाई अघि बढाएको पनि जानकारी दिनुभयो । समितिले संशोसित विधानको मस्यौंदा बनाउन देशभरका पार्टी समितिको सुझाव पनि लिईसकेको छ ।