Thursday, 03, December, 2020 info@saipalnews.com

तेजाबको सहज बिक्री वितरणमाथि नियन्त्रण गर्न माग

तेजाब आक्रमणका पीडितहरूले तेजाबको अहिलेको सहज बिक्रीमाथि नियन्त्रण हुनुपर्ने माग गरेका छन्। बजारमा सजिलै पाइने तेजाब विभिन्न महत्त्वपूर्ण प्रयोजनका लागि दैनिक रुपमा प्रयोग हुने भए पनि त्यसको सहज खरिदबिक्रीलाई निरुत्साहित नगरिएको प्रति पीडितहरूको चिन्ता रहेको छ।

चिन्ता

तेजाब विभिन्न कामका लागि आवश्यक भए पनि यसको दुरुपयोग बढी भइरहेको प्रति रसायनशास्त्री रामनाथ यादवले चिन्ता व्यक्त गरेका छन्।

उनले भने, “रसायन शास्त्रमा सल्फ्युरिक एसिडलाई किङ्ग अफ केमिकल भनिन्छ। अर्थात् यो रसायनको राजा हो र यसको प्रयोग धेरै काममा हुन्छ। तर यसको नकारात्मक प्रयोग गर्न खोज्नेलाइ त के भन्ने? यो निकै खतरनाक पदार्थ हो।”

कडा सजाय

तेजाब आक्रमण जस्ता घटनापछि छालामा क्षति गर्नुका साथै आफूहरूले सामाजिक समस्या पनि झेल्नु परेको पीडितहरूले दुखेसो पोखेका छन्।

बजारमा छ्यापछ्यापती पाइने तेजाब जस्तो संवेदनशील रसायनको दुरुपयोग रोक्न यसको उत्पादन, खरिद तथा बिक्रीमा कडा नीतिनियम आवश्यक रहेको एकजना पीडित सीमा बस्नेत बताउँछिन्।

उनले भनिन्, “तेजाब आक्रमणको घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको रोकथाम कसरी गर्न सकिन्छ भनेर सरकारले कदम चाल्नुपर्छ। पसलमा सजिलैसँग तेजाब किनबेच गर्नुभन्दा कुन कामको लागि हो त्यो सोधेर मात्रै बेच्नुपर्छ।”

आफ्नो प्रयोजन के हो भन्ने स्पष्ट पारेर अनि त्यसका लागि अनुमति लिनुपर्ने व्यवस्था भए यस्ता आक्रमणहरूमा कमी आउने उनको तर्क छ।

अर्की पीडित सुस्मिता दासले आफूले भोगेको पीडा अरू महिलाले भोग्न नपरोस् भनेर पनि एसिड छ्याप्नेलाई कडा भन्दा कडा सजाय दिनुपर्ने बताइन्।

अनुगमनको प्रयास

“जसले पायो त्यसले तेजाब प्रयोजन नखुलाइ किन्न नपाइने नियम हुनुपर्छ,” दासले भनिन्।

तेजाबको दुरुपयोगलाई नियन्त्रण गर्न सहज नभए पनि आवश्यक कदम भने चालिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

उनले भने, “हामीले नियमित रुपमा बजार अनुगमन गरिरहेका हुन्छौं। त्यो बेलामा बजारमा यस्तो कडा खालको तेजाब कहाँकहाँ बिक्री भइरहेका छन्, अनुमति छ की छैन, खरीद गर्ने मान्छेको परिचय सहित कति परिमाणमा किनेको हो , कहिले किनेको हो, कुन प्रयोजनको लागि किनेको हो, जस्ता विषय विक्रेतालाई अभिलेख राख्न लगाउन सकिन्छ। त्यसबारे योजना बनाउने काम भइरहेको छ।”

गएको दुई हप्तामा तेजाब आक्रमण जस्तो गम्भीर अपराधको शिकार भएका चारमध्ये दुई जनाको ज्यान जानुलाई सामान्य रुपमा लिन नहुने महिला अधिकारकर्मीहरू बताउँछन्।

तेजाब जथाभावी किन्न नपाउने नियम नभएसम्म तथा अपराधीलाई कडाभन्दा कडा कानूनी सजायको व्यवस्था नभएसम्म यस्तो अपराध नरोकिने उनीहरू बताउँछन् ।