Thursday, 22, October, 2020 info@saipalnews.com

अमेरिकामा अपराध, नेपालमा लुकिछिपी बसाेबास

काठमाडौ । अमेरिकाकाे एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक–पटक बलात्कार गरेको अभियोग लगाएको छ। प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन्। बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ।

तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ। अदालतबाट हालै जारी सार्वजनिक सूचनाका अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ।

अनुसन्धान, अदालती प्रक्रिया र जुरीको निर्णयजस्ता कुरालाई बोस्टनस्थित पीडित परिवारले पनि कुरा गर्दै स्वीकार गरेको छ। परिवारका सदस्यहरूले अभियुक्त भागे पनि एक दिन आफूहरूले न्याय पाउने आशा व्यक्त गरेका छन्।

यो मुद्दाको सम्पूर्ण जिम्मा जिल्ला सरकारी अटरनीको कार्यालयले लिएको पारिवारिक स्रोतले जनाएको छ। सुपेरिअर कोर्ट र एभरेट प्रहरीले वारेन्ट जारी गर्नुभन्दा अगाडि नै आफ्नो जघन्य अपराधको अनुसन्धान हुँदै गरेको सुइँको पाउनासाथ गत नोभेम्बरको अन्त्यमा अभियुक्त न्युयोर्कदेखि दिल्ली उडेको प्रहरी अनुसन्धानमा देखिएको छ।

अमेरिकी नागरिक निज अभियुक्त दिल्लीबाट स्थल मार्ग हुँदै बिनाभिसा नेपाल प्रवेश गरेको र करिब ११ महिना बिनाभिसा नेपालमा लुकेर बसेको बताइएको छ। निज अभियुक्तले नेपालमा पनि अन्य दुई जघन्य अपराध गरेको अनुसन्धानबाट देखिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ।