Saturday, 24, October, 2020 info@saipalnews.com

सकियो मनसुन, चिसो बढ्यो

काठमाडौ । बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट गत शुक्रबारदेखि बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ। मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्नेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ। आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको थियो। आइतबार काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ७ र अधिकतम २७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी र मध्यका पहाडी भेगमा सोमबार अपराह्नपछि मेघ गर्जनसहित एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मंगलबार राति मुलुकको पूर्वी र पश्चिम भू–भागमा आंशिक बदली रहने सम्भावना देखिन्छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै हुने महाशाखाले जनाएको छ। पछिल्ला तीन दिनमा काठमाडौंको न्यूनतम तापक्रमको दर घट्दै गएको विभागको तथ्यांक छ। बिहीबार न्यूनतम तापक्रम १५ दशमलव ५ रहेकोमा शुक्रबार र शनिबार १४ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो।

दसैंअघि नै मनसुन बाहिरिसकेकाले दसैंमा पानी पर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। बंगालको खाडी वा अरब सागरमा सामुद्रिक आँधी निर्माण भएमा त्यसको प्रभावमा नेपालमा पानी पर्ने सम्भावना हुन्छ। मौसमविद् प्रधानांगका अनुसार सामुद्रिक आँधी निर्माण हुने सम्भावना अहिलेको अवस्थामा छैन। पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यून चापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको तथ्यांक महाशाखासँग रहेको छ।

वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष चाँडो चिसो सुरु भएको महाशाखाका मौसमविद् प्रधानांगले जानकारी दिए। धुलोको कणका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष २० असोजमा १५ दशमलव ३ डिग्री सेल्सियस रहेकामा यसपटक २ डिग्री सेल्सियस तापक्रम घटेको छ। राजधानी दैनिकमा खबर छ।