Sunday, 17, January, 2021 info@saipalnews.com

खसीबोकाको मासुमै वार्षिक करिब डेढ खर्ब खर्च

काठमाडौ । नेपालीले मासिक नौ अर्ब रुपैयाँको खसीबोकाको मासु खाने गरेको पाइएको छ। उपभोक्ता मूल्यलाई आधार मान्दा देशभर मासिक नौ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ।

मासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छ। तीमध्ये झण्डै तीन लाख ८४ हजार दुई सय दुई वटा स्वदेशमै उत्पादन हुन्छन्।

अपुग करिब ४५ हजार सात सय ९८ देखि पाँच हजार गोटा भने भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिन्छ। आयात हुनेमध्ये करिब ७० देखि ८० प्रतिशत हिस्सा भारतको रहेको छ। स्वदेश र आयातित खसीबोका औसत ३० किलोका हुन्छन्। ३० किलोका खसीबोकाको २४ किलो तयारी मासु बन्छ। एक किलो खसीको मासुको उपभोक्ता मूल्य औसत नौ सय रुपैयाँ पर्छ।

स्वदेशी उत्पादन तीन लाख ८४ हजार दुई सय दुई गोटाबाट औसत ९२ लाख २० हजार किलो मासु तयार हुन्छ। यस्तै विदेशबाट आयात हुने ४५ हजार सात सय ९८ गोटाबाट १० लाख ९९ हजार एक सय ५२ किलो मासु तयार हुन्छ। दसैंंलगायत चाडवाडको तथ्यांक भने यो परिमाणमा जोडिएको छैन।

दसैंंमा सामान्य दिनभन्दा झण्डै १० दोब्बर हाराहारीमा खसीबोकाको मासु कारोबार हुन्छ। दसैंंमा हुने कारोबारलाई जोड्ने हो भने वार्षिक करिब डेढ खर्बभन्दा बढीको मासु नेपालीले खाँदै आएका छन्। दसैंका लागि ५७ करोड ६० लाख रुपैयाँका ३६ हजार वटा खसीबोका आयात गरिन्छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।