Saturday, 28, November, 2020 info@saipalnews.com

राजधानीमा भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठी आयोजना, आर्थिकसँगै भाषा र साहित्य पनि समृद्ध बनाउनुपर्नेमा जोड

काठमाडौं । गैरआवासीय नेपालीहरुको कुरा आउने वित्तिकै लामो समयदेखि आर्थिक लगानीसँग जोड्ने गरिएको छ । तर, शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा सहभागीहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृति पनि साथै समृद्ध बनाउँदै लैजानुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ, भाषा साहित्य प्रवर्द्धन समितिले राजधानीमा गरेको भव्य अन्तर्राष्ट्रिय कविता गोष्ठीका सहभागी स्रष्टाहरुले आर्थिक समृद्धिका लागि भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि साथै अघि बढाउनुपर्ने बताएका हुन् ।

समितिले नेपाल प्रज्ञा प्रतिष्ठानसहितको संयोजनमा भएको अन्तर्राष्ट्रिय कविता गोष्ठीमा बोल्दै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछानेले मुलुकको आर्थिक समृद्धिका सघाउन सुरु भएको गैरआवासीय अभियानका क्रममा आर्थिक समृद्धिका साथै भाषा, साहित्य, कला, संस्कृतिको विकास पनि हुनु पर्ने महशुस गरिएकाले नै नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा संघका एउटा समिति बनाएर भए पनि काम सुरु गरिएको बताउनुभयो । उहाँले अपेक्षा गरिएअनुसार कामहरु नभए पनि भविष्यका लागि सुरुवात भने भएको बताउनुभयो।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले हाइकु बाचन गरेर सुरु गरिएको कार्यक्रममा चर्चित तथा ख्यातिप्राप्त कविहरुले कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले आर्थिक विकासमा लागि भाषा, साहित्य, कला र संस्कृतिको विकास पनि साथै अघि बढाउनुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय कविता गोष्ठीमा बरिष्ठ कवि तुलसी दिवस, रामप्रसाद ज्ञवाली, अशेष मल्ल, शैलेन्द्र साकार, धिरेन्द्र प्रेमर्षि, रत्न शम्शेर थापा, सन्ध्या पहाडी, प्रभा भट्टराई, विमला तुम्खेवा, रमेश पौडेललगाएत नेपालका चर्चित कविहरुले आफ्नो उत्कृष्ट रचना बाचन गरेका थिए ।
कार्यक्रममा प्रवासी कवि एवं गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले पनि आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो। कवि थापाको सिर्जनाहरुको संगोलो ‘चोबोकका केटीहरु’ सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय गोष्ठीमा प्रवासी स्रष्टाहरु जानकी गुरुङ, गोविन्दप्रसाद गौतम, युवराज गुरुङ र भगवती बस्नेतले पनि आआफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले नेपाली, भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विश्वभर छरिएर रहेका नेपालीहरुसँग सहकार्य गर्न पाउँदा प्रतिष्ठानले गवै महशुस गरेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा केही महत्वपूर्ण कामहरु भएको भन्दै अब त्यसलाई अझ व्यापकता दिन आफू लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, भाषा साहित्य प्रवर्द्धन समितिका संयोजक एवं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका युरोप उपसंयोजक गोविन्द्रप्रसाद गौतमले गैरआवासीय नेपालीको लगानीको प्रसंग उठ्दा आर्थिक पक्षलाई मात्र जोड दिने गरिएको भन्दै अब भाषा, साहित्य, कला संस्कृतिको क्षेत्रमा पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरु विश्वका जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषा, साहित्य, कला र संस्कृतिमा दिलोज्यान दिएर लाग्ने गरेको भन्दै त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताउनुभयो ।