Thursday, 24, September, 2020 info@saipalnews.com

दशैंमा व्यापार बढी तर अर्थतन्त्रमा असर कस्तो

यस वर्ष दशैंका बेलामा करिब ५० अर्ब रुपैयाँ ब्याङ्क तथा वित्तिय संस्थाहरूलाई भुक्तानी दिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।यसरी नेपाली मुद्रा ब्याङ्किङ प्रणालीबाट सबैभन्दा धेरै असार मसान्तको छेउछाउमा बाहिरिन्छ भने दशैं त्यसपछिको दोस्रो अवसर रहेको अधिकारीहरुले बताएका छन्।

दशैंका बेला सर्वसाधरणले नै लत्ता कपडा, लगायत खरिद गर्दा बजारमा पैसा चलायमान हुन्छ। अघिपछिभन्दा ५० प्रतिशत बढि व्यापार दशैंकै बेला हुने गरेको व्यवसायीहरुले बताएका छन्।

मुद्रा

दशैंका बेला नयाँ नोटको माग पनि अत्याधिक हुनेगर्छ।

यो समयमा लत्ता कपडा, खाद्यान्नदेखि गरगहनाको पनि बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन्।

यो वर्षको दशैंमा विभिन्न ब्याङ्क तथा वित्तिय संस्थाहरुले अर्बौं रुपियाँ केन्द्रीय ब्याङ्कबाट निकालेको राष्ट्र ब्याङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले बताए।

उनले भने, “दशैंका बेलाभन्दा असार मसान्तामा अझ धेरै मुद्रा भुक्तानी भएको देखिन्छ। तर छोटो समयमा ठूलो रकम अर्थतन्त्रमा आउने बेला दशैं हो। असार मसान्त सरकारले सबैभन्दा धेरै बिकास बजेट खर्च गर्ने गरेको देखिन्छ भने दशैंका बेला सर्वसाधरणबाट माग हुनेगर्छ। यस वर्षको दशैंमा झण्डै ५० अर्ब रूपैयाँ व्याङ्क तथा वित्तय संस्थाहरुलाई भूक्तानी गरेका छौं।”

वस्तु

वर्षभरीमा सबैभन्दा धेरै व्यापार हुने मौसम दशैं रहेको व्यापारीहरू बताउँछन्। त्यसैले दशैंमा हुने व्यापारको तयारी महिनौं अघिदेखि गर्ने गरेको उनीहरूको भनाइ छ।

दशैंमा कति गुणा बढी सामान बिक्रि हुन्छ?

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव निरज राई भन्छन्, “कर्मचारीहरुले धेरै तलब थाप्छन् त्यसले गर्दा हाम्रो सबैभन्दा धेरै व्यवसाय दशैंका बेला हुनेगर्छ। अघिपछिको समयभन्दा दशैंको बेला ५० प्रतिशत व्यापार बढ्छ।”

दशैंमा बढ्ने उपभोगले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसलाई अर्थशास्त्रीहरु सकारात्मक रूपमा लिने गर्छन्।

चिन्ता

तर उपभोग हुने अधिकांश सामान आयातित हुनु चाहिँ चिन्ताको विषय भएको अर्थशास्त्री केशव आचार्य बताउँछन्, “हामीले गरेको खर्चको थोरैमात्र नेपालको अर्थतन्त्रभित्र बस्छ बाँकी चुहावट चाहिँ हामीले सामान आयात गर्ने देशहरुमै जान्छ। यो खराब हो। हामीले दशैंमा गरेको खर्चको ठूलो अंश हाम्रै अर्थतन्त्रमा रहने भएको भए त्यसले आर्थिक वृद्धिदर बढाउने, रोजगारी बढाउने सरकारको राजश्व बढाउने जस्ता थुप्रै कुरा हुन्थ्यो।”

दशैंका बेला धेरैजसो मानिस आआफ्नो थातथलो जाने भएकाले सडक सवारी र वायु सेवा संचालकहरूको पनि यसबेला आम्दानी बढ्ने गरेको बताइन्छ।

त्यसैले राम्रो लगाउने र मिठो खाने भनी चिनिने गरेको चाड दशैंको अर्थतन्त्रमा ठूलो महत्व रहेको अधिकारीहरू बताउँछन्।