Sunday, 27, September, 2020 info@saipalnews.com

प्रदेशकै नाममा माेटरसाइकलकाे नम्बर प्लेट, यस्ताे हुनेछ

काठमाडौ । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो।

अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ। मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।

नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्ने छ।

प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ। अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नुपर्नेछ। यसैगरी, पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ।

नम्बर प्लेट लेख्ने तरिका
अगाडिको नम्बर प्लेट
प्रदेश ३–०१
००१ प ११११
पछाडिको नम्बर प्लेट
प्रदेश ३–०१
००१ प
११११

राजधानी दैनिकमा खबर छ।