Thursday, 22, October, 2020 info@saipalnews.com

सासू–बुहारी बेपत्ता पछि बुहारी मृत फेला

बैतडी । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् ।

मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् ।

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको छ ।

सुत्केरी भत्ता वितरण भएन् 

स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाले पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत रु दुई हजार र नेपाल सरकारको प्रोटोकलअनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु ८०० चालू आर्थिक वर्षमा वितरण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्ताबापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् । रासस