Saturday, 26, September, 2020 info@saipalnews.com

‘सार्कमा बस्ने गैरअावासीय नेपालीलाई पनि गैरअावासीय नागरिकता’

काठमाडौ । संघीय संसदमा विचारधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवसीय नेपालीलाई समेत ‘गैरआवासीय नागरिकता’ दिनुपर्ने प्रस्ताव परेको छ।

प्रमोद शाह र एकवाल मियाँले राज्यव्यावस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने चिन्ता सरकारी अधिकारी प्रकट गर्छन्।

‘सार्क राष्ट्रभित्र भारत पनि पर्छ र त्यहाँ नेपाली मूलका लाखौँ मानिस बसोबास गर्छन्। तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नागरिकताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठूलो उथलपुथल आउँछ’, कनुनसेवाका एक अधिकारीले भने। संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंवैधानिक रहेको उनले बताए।

संविधानको धारा १४ मा ‘सार्कबाहेकका देशमा बसोबास गरेका’ नेपाली र तिनका सन्तानलाई मात्र आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ। कान्तिपुर दैनिकमा खबर छ।