Tuesday, 29, September, 2020 info@saipalnews.com

यदुनाथ गुरागाईको ‘सुरभि गीता’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । यदुनाथ गुरागाईंद्वारा लिखित काव्य ‘सुरभि गीता’ आज सार्वजनिक भएको छ । रत्न पुस्तकालयको ५६औँ वार्षिकोत्सव र स्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो ।

लेखक गुरागाईंले देश परनिर्भर भइरहेको बेला युवामा चेतना जगाउन पुस्तक लेखेको बताउनुभयो । उहाँ भन्नुुहुन्छ, “आजका युवामा गीताको ज्ञान हुने हो भने देशमा छिट्टै परिवर्तन हुने थियो ।” राष्ट्रप्रेमको अभावका कारण देश झन्झन् पछाडि पर्दै गएको उहाँको भनाइ थियो ।

पुस्तकको समीक्षा गर्दै समालोचक एवं साहित्यकार डा नवराज लम्सालले सो काव्य लोकलयमा लेखिएको र साधारण पाठकले समेत बुझ्न सक्ने रहेको बताउनुभयो । “समाजमा भय छ, त्रास छ, युवा के गर्ने भन्ने अन्योलमा छन्”, लम्सालले भन्नुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवं पूर्व प्रधानन्यायधीश अनुपराज शर्माले साहित्यमा प्रयोग हुने भाषाशैली क्षेत्रगत रुपमा प्रयोग हुने बताउनुभयो । उहाँले शहर वृद्धाश्रममा परिणत भएकोमा चिन्ता व्यक्त गर्दै आयोगले देशभरका वृद्धाश्रमका बारेमा अनुसन्धान गर्न लागेको जानकारी दिनुभयो । “सरकारले वृद्धाश्रममा लगानी त गरेको छ, तर त्यहाँ धेरै अनियमितता छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा गीतकार कालीप्रसाद रिजालले नेपाली गीतमा साहित्य मिसाउने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो व्यक्ति लक्ष्मीप्रसाद देवकोटा भएको बताउनुभयो । सो अवसरमा पुस्तकालयका आजीवन सदस्य रहेर ७५ वर्ष नाघेका पाँच ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रा डा दुर्गाप्रसाद भण्डारी, सुरेशराज चालिसे, कलाधर काफ्ले, वैकुण्ठप्रसाद गौतम र डा सीताराम अधिकारी हुनुहुन्छ । त्यस्तै पुस्तकालयमा नियमित पुस्तक पढ्ने आशिष घिमिरे र पुस्तकालयको सदस्य भएर नियमित खरिद गर्ने बैकुण्ठ कोइरालालाई पनि सम्मान गरिएको थियो ।

रत्न पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाले यस वर्ष उक्त पुस्तकालयले देशभरबाटै पहिलो पुस्तकालयको उपाधि पाएको जानकारी दिँदै हाल पुस्तकालयका ३५० आजीवन सदस्य रहेको जानकारी दिनुभयो । हाल पुस्तकालयमा १० हजार पुस्तक छन् । पुस्तकालय २०१९ सालमा स्थापना भई निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ ।