Wednesday, 21, October, 2020 info@saipalnews.com

साकिनी कुखुराका परिकार बिक्रीबाट जीवनस्तरमा सुधार

काठमाडौँ । नवलपरासी, कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोरा छोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका छैनन् । स्वयम् रोजगारका लागि कतै भौतारिनु परेको छैन । लोपोन्मुख स्थानीय अनदी धानको चामलबाट तयार पारिने चिचर, कुखुरा, (साकिनी) हास, माछा र घुँगीका विभिन्न परिकारबाट तयार पारिएका स्वादिष्ट परिकार बिक्रीबाट उनीहरुको जीवनस्तरमा परिवर्तन आएको हो ।

यहाँका आदीबासी थारु र बोटे समुदायले अमलटारी मध्यवर्ती सामुदायिक घरवास (होमस्टे) सञ्चालन गरेका छन् । होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटक उनीहरुका मुख्य ग्राहक हुन् । गाँउमा कुनै नौलो मान्छे आउँदा बोल्न डराउने, केही कुरा सोधे रिसाउने तथा लजाउने उनीहरुको व्यवहारमा अहिले निकै परिवर्तन आएको छ । विभिन्न थरीका पाहुनाको सत्कार र सम्मानबाट नयाँ संस्कारको सिको तथा लोपोन्मुख संस्कृति र नृत्य प्रदर्शनको जगेर्ना भएको छ ।

कावासोती–१५ मा थारु समुदायको ५६, मुसहर ७८ र बोटेको ७६ घर छन् । त्यहाँको कूल जनसङ्ख्या करीब एक हजार दुई सय छ । उनीहरु कृषि, पशुपालन र खोलामा माछा मारेर जीवन निर्वाह गर्दै आएका छन् । थारुको २१ तथा बोटेको तीन घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालन नगरेका परिवारले प्राङ्गारिक तरकारी खेती, हास, स्थानीय कुखुरा तथा पशुपालन गरी उत्पादन होमस्टेलाई बिक्री वितरण गर्दै आएका छन् ।

कृषि, पशुपालन र माछा मारेर मात्र उनीहरुको जीवनमा परिवर्तन आएको होइन । मुख्यतः परम्परागत खेती र पशुपालनको संरक्षणमा होमस्टेका कारण उनीहरुको जीवनमा परिवर्तन आएको हो । नारायणघाटबाट झन्डै ३५ किमी टाढा डण्डा बजारबाट चार किमी पूर्वमा होमस्टे सञ्चालनमा छ । बाँण खोला र गुन्द्रही ढकाह मध्यवर्ती सामुदायिक वन आसपासमा होमस्टे रहेका छन् । होमस्टेकै कारण सो ठाउँ चिनिएको छ ।

गरे के हँुदैन भन्ने उदाहरण बनेको छ यहाँको समुदाय । चोकचोकमा साना–साना पोखरीमा हास पालिएको छ । लोकल कुखुरा (साकिनीको) संरक्षण भएको छ । स्थानीय परिकारले बजार पाएको छ । समस्त परिवारले काम पाएका छन् । स्थानीय खाद्यान्नले बजार पाएको छ । पाहुनाको सम्मान भएको छ । लोपोन्मुख थारु तथा बोटे संस्कृतिको पहिचान झल्किएको छ ।

नेपालको पहिलो ‘होमस्टे’ सिरुबारी हो । सो होमस्टे स्याङ्जाको आँधिखोला गाँउपालिकामा सांसद स्व रुद्रमान गुरुङ्ले २०५४ सालमा सञ्चालनमा ल्याउनुभएको हो । अहिले धेरै जसो जिल्लामा होमस्टे सञ्चालनमा आएका छन् । नेपालमा करीब २०० सयको हाराहारीमा होमस्टे सञ्चालनमा रहेको व्यवसायी धनीराम गुरौले बताउनुभयो । आजभन्दा पाँच वर्ष पहिले स्थापना गरिएको अमलटारी होमस्टेका संस्थापक सदस्यको समूहले आम्दानीलाई यथोचित व्यवस्थापन गर्न दिगो गाँउ सहकारी संस्थाको स्थापनासमेत गरेको छ । हाल उक्त सहकारी संस्थामा रु एक करोड ५० लाख बचत सङ्कलन भएको संस्थाका अध्यक्ष प्रेमशङ्कर मर्धन्या थारुले जानकारी दिनुभयो ।

संस्थाले गरीब परिवारको आर्थिक अवस्था सुधार गर्न बिना धितो रु तीन लाखसम्म लगानी गर्दै आएको छ । अमलटारबासी गरिवी घटाउँदै लैजानुपर्छ भन्ने मान्यता राख्छन् । तसर्थ ऋणीलाई जम्मा ६ प्रतिशत ब्याजमा लगानी गर्नु सो संस्थाको उद्देश्य हो । राष्ट्रिय सहकारी महासङ्घले सबैभन्दा सस्तो ब्याजमा ऋण लगानी गर्ने नेपालको पहिलो सहकारी संस्था हमार दिगो गाँउ सहकारी संस्था भएको जनाएको छ । संस्थाले पाहुनालाई जङ्गल सफारीका लागि तीन जीप खरीद गरी सञ्चालनमा ल्याएको छ । –राजाराम कार्की /रासस