Saturday, 26, September, 2020 info@saipalnews.com

नेपाल र भारतबीच वर्षायाममा किन बढ्छ तनाब

काठमाडौँ । जलस्रोतको विषयलाई लिएर नेपाल र भारतको सम्बन्ध तनावपूर्ण छ। जब नेपालमा वर्षायाम सुरु हुन्छ तब नेपाल–भारत सम्बन्धमा उतार चढाव सुरु हुन्छ।बाढी दुवै छिमेकी देशको तनाबको कारण बनेको छ। दुवै देशका नागरिक निराश छन्, आफ्ना बस्ती डुबानमा परेकोमा उनीहरु एकअर्कालाई जिम्मेवार ठान्छन्।यसवर्ष पनि बाढीले दुवै देशका क्षेत्रहरु डुबानमा परेका छन्। नेपाल र बंगलादेशमा दर्जनौं मानिसको मृत्यु भइसकेको छ। भारतका पूर्वी क्षेत्रमा ३० लाखभन्दा बढी मानिस बाढीका कारण विस्थापित भएका छन्।

भारत र नेपालबीच करिब १८ सय किलोमिटर लामो सीमा छ। लगभग ६ सय नदी र साना खोलाहरु नेपालबाट भारत प्रवेश गर्दछन्। सुख्खा याममा नेपालका नदीनालाले भारतको गंगा नदीमा ७० प्रतिशत योगदान दिन्छन्। जब नेपालमा वर्षायाम सुरु हुन्छ नेपालका नदी नालामा बाढी आउँछ। त्यसले नेपाल र भारतका विभिन्न क्षेत्र डुबानमा पर्छन्। डुबानबाट यो पटक नेपाली बढी पीडित बनेका छन्।

नेपाल सीमानामा भारतले लगाएको बाँध र त्यहाँका संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको छ। दुई वर्ष अगाडि बीबीसीले गरेको एक खोजका आधारमा पनि सीमानामा लगाइएको बाँध र त्यहाँका संरचना हेर्दा त्यसले नेपालबाट भारत पुग्ने नदी रोकेको देखिएको थियो।

 

ती संरचनाहरु सीमावर्ती त्यही ठाउँमा बनाएका छन् जहाँ सन् २०१६ मा नेपाली र भारतीय नागरिकबीच एकआपसमा झडप भएको थियो। त्यो घटना भारतले तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले प्रतिक्रिया जनाउँदा भएको थियो। नेपाली अधिकारीहरुका अनुसार सीमानामा लगभग १० वटा भारतीय संरचना छन् जसका कारण नेपालको हजारौं हेक्टर जमिन डुबान हुन्छ।

भारतीय अधिकारीको दाबी छ, ‘त्यो सडक हो।’ तर नेपालका विशेषज्ञ भन्छन् यी तटबन्ध भारतको सीमावर्ती गाउँलाई डुबानबाट बचाउन बनाइएका हुन्। दक्षिण नेपालको रौतहट जिल्लाको मुख्यालय गौर गत हप्ता तीन दिन डुबानमा पर्यो। त्यतिबेला बाढीको त्रास छँदै थियो स्थानीय अधिकारीलाई अर्को डर पनि थियोः नेपाल र भारतका नागरिकबीच मुठभेड होला कि भन्ने।

नेपलका सशस्त्र प्रहरी बलका एसपी कृष्ण ढकाल बीबीसीसँग भन्छन्,‘विवाद मच्चिएपछि भारतीय पक्षले भारतीय तटबन्धको तलका दुईवटा गेट खोलेदिए जसले अवस्था सुधारको लागि हामीलाई मद्दत मिल्यो। (नेपालखबरबाट साभार)