Tuesday, 29, September, 2020 info@saipalnews.com

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कडा कारबाही गर्न प्रदेश सरकारको निर्देशन

रुपेन्देहीरु । पन्देहीको तिलोत्तमा रहेका बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारले चासो दिएको छ । प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारवाही गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर बुद्ध मूर्ति तोडफोडको घटनालाई गम्भिर रुपमा लिएर छिटो दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

घटनाले शान्तिप्रिय जनताको भावनामा चोट पुग्नका साथै बुद्धको जन्मभूमिबारे विश्वभर नकारात्मक सन्देश फैलाउने प्रयास भएको मन्त्री गिरीले बताएका छन् । मन्त्री गिरीले दोषी पत्ता लगाउन ढिला हुँदा धार्मिक सदभावमा असर पुग्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जानेतर्फ भएकाले यस तर्फ सबैलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

लुम्बिनी भ्रमण बर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा तीनसय मिटर दुरीको अन्तरमा २२ वटा बुद्धका मूर्ति राखिएका थियो । जस्तै नयाँमिलदेखि शंकरनगरसम्म राखिएका बुद्ध मुर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको थियो ।

घटनाको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार बौद्ध धर्मावलम्बी संघसंस्थाले घटनाको विरोध र सामाजिक तथा धार्मिक सद्भावको आव्हान गर्दै मणिग्राममा र्‍याली निकालेको थियो ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको छ ।उक्त टोलीले बिहीबारबाटै अनुसन्धानको काम सुरु गरि सकेको छ ।