Thursday, 24, September, 2020 info@saipalnews.com

सिंगो राष्ट्रकै सूचना प्रणाली ह्याक

असेन जेनोभ निकै त्रसित छन् । यही साता बुल्गेरियाको राजस्व कार्यालयबाट ५० लाख नागरिकको व्यक्तिगत विवरण ह्याकरले चोरी गरेको खुलासा भएलगत्तै उनको पनि व्यक्तिगत विवरण सार्वजनिक गरियो । मुलुकभर करिब ७० लाख मानिसको व्यक्तिगत विवरण चोरी भएको खुलासा भएको छ । यसको अर्थ रोजगारीमा संलग्न हरेक बुल्गेरियन जोखिममा रहेको भन्न सकिन्छ ।

अहिले हामी निकै आत्तिएका छौं र आक्रोशित छौं । अहिले यो सूचना हरेक बुल्गेरियन नागरिकको पहुँचमा छ । मलाई विश्वास छ कि यो सूचना बुल्गेरियनहरुमा मात्र सीमित छैन,” ब्लगरसमेत रहेका राजनीतिक विश्लेषक जेनोभ भन्छन् । उनीलाई थाहा छ कि उनको व्यक्तिगत विवरणमा सौदाबाजी गरिँदैछ किनकी उनी आईटी विज्ञ होइनन् र उनी अहिले चोरी भएको विवरण अनलाइनमा खोजिरहेका छन् ।

यो आक्रमण अस्वाभाविक हो तर नौलो भने होइन । विज्ञहरु भन्छन्, “सरकारी डाटावेस ह्याकरहरुका लागि ‘महको भाँडो’जस्तै हुन् । किनकी सरकारी डाटावेसमा मुलुकको अत्यधिक सूचना हुन्छ र त्यो सूचना वर्षौँसम्म काम लाग्ने र राष्ट्रको अहितमा दुरुपयोग हुनसक्छ ।”

साइबर सेक्युरिटी कम्पनीका प्रमुख गुय बंकरका अनुसार सरकारी तथ्यांकमा दर्ता भएको व्यक्तिगत परिवर्तन गर्न नसकिने किसिमको हुन्छ । जस्तै– तपाईंको जन्ममिति, तपाईंका ठेगाना आदि । सरकारी तथ्यांकमा दर्ता भएको कयौं व्यक्तिगत सूचना जति हिजो आधिकारिक थिए, आज पनि त्यति नै महत्वपूर्ण र आधिकारिक हुन्छन् र सम्भवतः भोलिका दिनमा पनि यति नै आधिकारिक हुनेछन् ।”

ह्याकरको दुनियाँ 

जुन सूचनाहरु ह्याक गरेर चोरी भएका छन्, ती एकदमै दक्ष ह्याकरले गरेको अनुमान गरिएको छ । तर, यो सूचना प्रणाली नै ‘ब्रेक’ गर्न गरिएको ह्याकरको प्रयास निकै सावधानीपूर्वक र योजनासहित गरेको देखिन्छ । डार्क वेबमा देखिएको ह्याकिङ टुल्स र मालवेयर हेर्दा वेबमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ ।  साइबर स्काउटका संस्थापक आडम लेभिनले सरकारी सूचना प्रणालीमाथिको आक्रमण बढिरहेको बताए । यसलाई सूचनाको युगमा युद्धको रुपमा लिन सकिने उनको भनाइ छ । उनले भने, “यदि हामीले साइबर सुरक्षालाई प्राथमिकताका साथ लियौं र साइबरमा सुरक्षा गर्न सक्यौं भने हामीले युद्ध जित्नेछौं ।”

सरकारले तत्काल साइबर सुरक्षामा ध्यान दिनुपर्छ भन्ने विषय अहिले नयाँ होइन । आईटी तथा साइबर सुरक्षाका विज्ञहरुले वर्षौंदेखि यही कुरामा सजग र सचेत रहनुपर्ने भन्दै सरकारलाई झक्झक्याइरहेका थिए ।

सन् २००६ मा पहिलोपटक यूएस डिपार्टमेन्ट अफ भेट्रान्सबाट करिब २६ लाख व्यक्तिगत विवरण तथा सैनिक सूचनाहरु चोरी गरिएको थियो ।

“फेरि अहिले त्योभन्दा ठूलो परिमाणमा सूचनाहरु चोरी भएका छन् । करिब १३ वर्षपछि पनि हामी त्यही अवस्थामा छौं । हामीले त्यतिखेरदेखि नै सूचना प्रणालीलाई बलियो बनाउने र साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्थ्यो । तर, अहिले सिंगो राष्ट्रको सूचनाहरु चोरी भएका छन् । बुल्गेरियामात्र होइन, विश्वका कयौं देशहरु अहिले यो समस्याबाट ग्रसित छन्,” बंकर भन्छन् ।

बुल्गेरियन व्यक्तिगत विवरण सुरक्षा आयोगले ह्याकरको बारेमा विस्तृत अनुसन्धान गरिने बताएको छ । राष्ट्रिय राजस्व कार्यालयका प्रवक्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । सूचना निर्देशक रोसेन बक्भारोभ भन्छन्, “यस विषयमा अनुसन्धान सुरु भइसकेको छ । तर, ह्याक गर्नुको कारणबारे अहिले कुनै जानकारी प्राप्त भएको छैन ।”

सरकारलाई नै लज्जित बनाउने विषय 

ह्याकिङमा संलग्न भएको आरोपमा एक जना २० वर्षीय साइबर सुरक्षामा काम गर्ने युवकलाई बुल्गेरियन प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले प्रयोग गरेको कम्प्युटर र सफ्टवेयरका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनका साथबाट मोबाइल फोन, कम्प्युटर, सफ्टवेयरलगायत सामग्रीसमेत बरामद गरेको छ । यदि उनी दोषी प्रमाणित भएमा उनलाई कम्तिमा आठ वर्ष जेल सजाय हुनेछ ।

“अहिले नै यस विषयमा यस्तै भयो भनेर प्रतिक्रिया दिनु चाँडो हुनसक्छ । तर, राजनीतिक कोणबाट हेर्दा यो घटनाले सरकारलाई निकै लज्जित पारेको छ,” सोफिया ल फर्मका अधिवक्ता क्रुस्टिभाले भने ।

सरकारलाई लज्जित यसकारण पारेको छ कि बुल्गेरियामा यसरी सरकार सूचना प्रणाली ब्रेक गरेको यो पहिलो पटक होइन । केही वर्ष पहिले बुल्गेरियाको कमर्सियल रजिस्ट्री कार्यालयमा समेत यस्तै किसिमको ह्याक गरिएको थियो । “त्यसकारण यतिका वर्षपछि बुल्गेरियाको समाज तथा राजनीतिक नेतृत्वमा बसेकाहरुले यस साइबर सुरक्षाका विषयमा नयाँ रणनीति र कार्ययोजना तयार गर्नुपर्थ्यो । तर, उनीहरुले यस विषयमा बेवास्ता गरिएको देखियो,” जेनोभ भन्छन् । (१२खरीबाट साभार)