Thursday, 24, September, 2020 info@saipalnews.com

छविराज र शिल्पालाई पक्राउ गर्ने पक्राउ पुर्जी जारी

काठमाडौँ । चचित्र निर्माता  छविराज ओझा र उनकी कान्छी श्रीमती नायिका शिल्पा पोखरेलविरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीले पक्राउ पुर्जी जारी जारी गरेको छ। ओझाकी जेठी श्रीमती हेमा ओझाले प्रहरी परिसर काठमाडौंको महिला सेल कालीमाटीमा मंगलबार जाहेरी दर्ता गरेपछि सोही जाहेरीका आधारमा छवि र शिल्पालाई  पक्राउ गर्न प्रहरीले बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

दुवै जनाकोविरुद्ध बहुविवाहको जाहेरी दर्ता भएको छ। हेमाले आफूसँग सम्बन्धविच्छेद नै नगरी विवाह गरेको भन्दै जाहेरी दिएकी थिइन्। छवि र हेमाको २०४१ मा विवाह भएको थियो। प्रहरीले दुवैलाई पक्राउ गरी थुनामा राखेर मुद्दा अघि बढाउने भएको छ। सोही आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरेको हो। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ अनुसार बहुविवाह कसुर ठहर भएमा छबी र शिल्पालाइ एकवर्ष देखि पाँच वर्षसम्म कैद हुन सक्नेछ।

हेमा ओझा छवि ओझाकी पहिलो श्रीमती हुन्। सम्बन्धमा दरार आएपछि सम्बन्धविच्छेद नगरी अंगबन्डा गरेर बसेका थिए।छविले यसबीचमा गीताञ्जली, रेखा थापा र शिल्पा पोखरेलसँग विवाह गरेका थिए । गीताञ्जलीको निधन भइसकेको छ भने रेखा थापासँग उनले सम्बन्धविच्छेद गरेका छन्।