पुस १८ भजनी । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व सङ्कलन गरेर मात्र देश समृद्ध बनाउन नसकिने बताउनुभएको छ । सत्ती भन्सार कार्यालयको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राजश्व सङ्कलनले मात्र नभई अन्य आन्तरिक आयस्रोतबाट आत्मनिर्भर बन्न सके मुलुक समृद्ध हुन्छ ।

सामाजिक सुरक्षा कार्यक्रमलाई वर्तमान सरकारले महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले दुई वर्षभित्र ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम र एक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने बताउनुभयो ।
मन्त्री डा खतिवडाले विकास सूचकाङ्कमा पछाडि परेका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं। २ लाई विशेष महत्वका साथ हेरिएको उल्लेख गर्दै विकासका आवश्यक पूर्वाधार निर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
देशको चरम गरिबी छिट्टै मुक्त हुन्छ”,उहाँले भन्नुभयो, “वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनु पर्दैन । सबै नेपालीलाई समानतासँगै अगाडि बढ्नेमा सरकार प्रतिबद्ध छ ।” भन्सार कार्यालयलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने तथा क्वारेन्टाइन स्थापनाका लागि पहल शुरु भइसकेको पनि उहाँले बताउनुभयो ।
विसं २०७५ कात्तिक ५ गतेबाट मूल भन्सारको रुपमा कामकाज शुरु गरेको सत्ती भन्सार कार्यालयको आज औपचारिक रुपमा उद्घाटन भएको हो ।
- रासस