Thursday, 22, April, 2021 info@saipalnews.com

स्वास्थ्य नीति चाँडो ल्याइने : मन्त्री ढकाल

पुस १९ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याइने गृहकार्य भइरहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१४, ग्रिन लन्स एकेडमीको २६ औँ वार्षिकोत्सवको शुभारम्भ गर्दै उहाँले विद्यालय आसपास क्षेत्रमा सूर्ति तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याइने बताउनुभयो ।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान बनाउन प्राथमिकता दिएको उल्लेख गर्दै निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाइने बताउनुभयो ।

कामपा १४ का वडाध्यक्ष शोभा सापकोटाले विद्यालयले पाठ्यक्रमका अतिरिक्त अन्य क्रियाकलापमा पनि विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयका अध्यक्ष मोहनकुमार बस्नेतले विद्यालयले शैक्षिक गतिविधिका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिरहेको जानकारी दिनुभयो ।

प्रधानाध्यापक भीष्म पाण्डेले २६ वर्ष अगाडि स्थापित यो विद्यालयले देशको शैक्षिक क्षेत्र उन्नयनमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै विद्यालयमा ७०० विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

  • रासस