Thursday, 22, October, 2020 info@saipalnews.com

त्रिभुवन विमानस्थलबाट सुन र हिरासहित दुई पक्राउ

पुस २० काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन र हिरासहित दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले सुन र हिरासहित भारतीय नागरिक मोहम्मद माईदिन साथट र कोटाककुथ किजाकेथिललाई आज दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले स्थालीलाई २२२ ग्राम हिरा र किजाकेथिललाई ५०० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका माईदिन नेपाल एयरलाइन्स उडानद्वारा मलेसियाबाट नेपाल आएका र कोटाककुथलाई दुबईको उडानद्वारा दुबई हुँदै नेपाल आएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाले सुन र हिरालाई क्याप्सुल बनाएर मलद्वारमा लुकाइछिपाइ गरेर ल्याएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस